काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा पत्रकार यादव पौडेलको हत्याका मुख्य अभियुक्त युवराज गिरीलाई आममाफी दिएकी छन्। पत्रकार पौडेलको हत्या अभियोगमा उनी करिब १० वर्षदेखि झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। उनले गरेको अपिलका आधारमा राष्ट्रपति भण्डारीले आममाफी दिइएको हो।
२०६८ चैत २१ गते मध्यराति झापाको बिर्तामोडस्थित नेपाल पत्रकार महासंघको कार्यालय नजिक पत्रकार पौडेलको हत्या भएको थियो। पत्रकार पौडेलको हत्या अभियोगमा होटल सञ्चालक सोम ढकाल, उनकी श्रीमती भनिएकी फूलमाया कार्की र होटल व्यवसायी गिरी पक्राउ परेका थिए।
तीन तलामाथिबाट खसालेर हत्या गरिएका पत्रकार पौडेल त्यतिबेला राजधानी दैनिक र एभिन्युज टेलिभिजनमा कार्यरत थिए। अस्पतालको पोष्टमार्टम रिपोर्टमा पत्रकार पौडेलको टाउको र फोक्सोमा रगत जमेको, कलेजो फुटेको, तीनवटा करङ तथा देव्र हात भाँचिएको उल्लेख थियो।
हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई पुनरावेदन अदालत इलामले २०७१ असार तेस्रो साता दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। यसअघि झापा जिल्ला अदालतले मुख्य अभियुक्त गिरीलाई मात्रै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उनका दुई सहयोगीलाई समेत जन्मकैदको माग गरिए पनि उनीहरु थोरै सजायको भागिदार भएका थिए।
गिरी पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पनि गएका थिए। सर्वोच्चले पनि गतवर्ष पुनरावेदन अदालतको फैसलालाई सदर गरेपछि गिरीका अगाडि न्यायिक अपिलको अदालती ढोका बन्द भएको थियो। तर, गिरीले कारागार प्रशासनमार्फत आममाफीका लागि पहल थालेका थिए।
आममाफीको पत्र आएलगत्तै शनिबार गिरी रिहा भएका छन्। पत्रकार पौडेलकी श्रीमती सुनम पौडेलले गिरीलाई आममाफी दिइएकोप्रति दुःख प्रकट गरेकी छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation