काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले मधेस प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो।
खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन्। जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। खेलमा जितको लागि पुलिसले मधेश प्रदेशलाई २७४ रनको लक्ष्य दिएको थियो।
जवाफमा मधेस प्रदेश २९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो। मधेश प्रदेशका लागि मोहमद आदिल आलमले सर्वाधिक ४२ रनको योगदान दिए। त्यसैगरी रत्न रौनकले ११ तथा कप्तान हरिसङ्कर शाहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन्।
मधेस प्रदेशलाई सस्तैमा समेट्नेक्रममा पुलिसका कुलश भुर्तेल एक्लैले ५ विकेट लिए भने करण केसीले ३ तथा राशिद खानले २ विकेट झारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २७३ रनको योगफल बनाएको थियो।
पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिहं ऐरीले अर्धसतक प्रहार गरे । आरिफले सर्वाधिक ७३ रनको योगदान दिए भने अमितले ६५ रनको योगदान दिए। त्यसैगरी दीपेन्द्रले ५१ रन जोड्दा दीलीप नाथले ४० तथा सुनिल धमलाले ११ रन बनाए।
बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंह र राजेश यादवले समान ३/३ विकेट लिए भने आदील आलमले २ विकेट झारे। जितसँगै पुलिसले चार खेलमा अपराजित रहदै ८ अङक जोड्यो भने समान चार खेल खेलको मधेश प्रदेशले पाँच अङ्क बनायो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation