९ कार्तिक २०८३, आइतबार

मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकार असफल

  • १८ फागुन २०८०, शुक्रबार
Image

२०८० फागुन १७ बिहिवार

काठमाडौँ- सरकारले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि वार्ता टोली बनाएर वार्ता गरिरहेको छ । तर दुई पटकसम्म वार्ता सफल हुन सकेन। गत फागुन १० गतेदेखि २३ दिन लगातार हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितहरु निरन्तर रुपमा आन्दोलमै छन्। पीडितहरु न्याय नपाएसम्म काठमाडौँ नछाड्ने अडानमा छन्। देशका विभिन्न भागबाट २३ दिन लगातार हिँडेर काठमाडौँ सरकारसँग न्याय माग्न आएपनि उनीहरुको मागलाई सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन। 

खाली खुट्टामा हिँड्दा उठेका ठेलाहरू फुटेर बनेका घाउँबाट रगत बगाउँदै भएपनि दैनिक काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । सरकारले उनीहरुको माग सम्बोधनको लागि वार्ता टोली बनाएर वार्ता गरेपनि दुई पटकसम्म वार्ता सफल भएन। 

राजधानी आएका अधिकांश मिटरब्याज पीडितहरु गाउँकै साहुमहाजनबाट लिएको ऋणले उठिबास बनाएको भन्दै सरकारसँग जाली तमसुक खारेज गर्नुपर्ने पीडितहरुको माग छ। अधिकांश पीडितहरुले ऋण लिएको ४ देखि ६ वर्षमा दोब्बर तेब्बर ऋण पुग्ने र हरेक वर्ष बुझाउँदा पनि साहुको ऋण नघट्न उल्टो बाँकी छ भन्दै घर जग्गा लुट्ने काम गरेको उनीहरुको  गुनासो छ।

उनीहरुले साहुले जाली तमसुक बनाएर भएको एक कट्ठा जमिन समेत हडपेकाले न्यायको लागि काठमाडौँ आएको तर न्याय पाउने आशा मरेको बताए। उनीहरुले ऋणको दोब्बर पैसा फिर्ता गर्दा पनि साहुले जग्गा खाने र जग्गा फिर्ता माग्दा उल्टै ऋण लिएको भन्दा बढी पैसा माग्ने गरेको पीडितहरुले गुनासो गरे। मिटिरब्याज पीडितले आन्दोलन गर्दैगर्दा साहुको फोन आउने गरेको बताए। 

सुनसरीबाट आएका अर्का मिटरब्याज पीडित बेलाल अनसारीले पूर्वमेचीदेखि पैदल हिँडेर काठमाडौँ आएको ३२ दिन भएको र स्वास्थ्यमा समस्या देखिन थाल्दा समेत सरकारले माग सुनुवाइ गर्ने अवस्था नदेखिएको दुःखेसो पोखे । उनले पीडितहरुको माग सम्बोधन नभएसम्म काठमाडौँमा नै बस्ने बताए । उनले काठमाडौँ बस्नलाई धेरै समस्या रहेको गुनासो गरे । उनले मिटिरब्याज पीडितले यति धेरै दुःख कष्ट भोग्दा पनि सरकारले समस्या बुझ्न नसेको बताए । उनले आन्दोलनमा हुँदा समेत साहुमाहजनले पैसा कहिले दिने भन्दै फोन आउने गरेको सुनाए । सरकारले मिटिरब्याज पीडितलाई गृहमन्त्रीले दिने न्यायको सन्देश लिएर मात्रै आउने सुनाएको बताए । 

मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता शत्रुधन कुशवाह यादवले सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न आनाकानी गरिरहेको बताए । सरकारले ६ बुँदे माग सम्बोधन गरे पीडितहरु तत्काल घर फर्कने जानकारी दिए । उनले पीडितहरुको सरकारसँग धेरै ठूलो माग नभएको भन्दै जाली तमसुक खारेज,बढी लगेको पैसा फिर्ता लगायतमा मात्रै माग रहेको बताए । 

सिराहा जिल्लाका तिलकबहादुरको पनि उस्तै गुनासो रहेको छ । उनले पनि न्याय माग्नको लागि काठमाडौँ आएको र न्याय नपाएसम्म घर नफर्कने बताए । न्याय पाउने आशाले अगुवाहरुको पछाडि लागेर आएको बताए । 

कैलाली टिकापुरकी लक्ष्मी शाहले मिटरब्याजीले ऋणले भएकार घरजग्गा लिलाम गरेकाले न्यायको लागि आन्दोलनमा आएको बताइन् ।पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबिचको वार्ताले ठोस निस्कर्ष निस्कने भने पनि अहिलेसम्म आउन सकेको छैन ।

त्यस्तै दाङका मिटरब्याज पीडितले राज्यले पीडितहरुको माग सम्बोधन भन्दा पनि राजनीतिकरण गर्ने काम भइरहेको बताए। उनले काठमाडौँ आएर न्यायको ढोका ढकढकाय पनि न्याय पाउने अवस्था नदेखिएको दाबी गरेका छन्। ती पीडितले सरकारसँगको वार्तामा पनि विभिन्न पार्टीहरुको खेल भइरहेको बताए।

उनले वार्ताको माध्यमबाट समस्याको समाधान नहुने भएकाले न्याय पाउने विश्वास हराएको बताएका छन्। उनले पीडितहरुको माग सरकारले सम्बोधन गर्छ भन्ने दुःख,कष्ट सहेर पनि न्याय पाउने आशाले बसिरहेको भन्दै खान, बस्नको लागि आफैँ खर्च गर्नुपरेको र न्याय नपाएसम्म काठमाडौँ नछोड्ने योजनामा रहेको उनले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर