काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वको चयन भएको छ। शनिबार सम्पन्न साधारण सभाले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। चन्द अध्यक्षमा निर्विरोध दोहोरिएका हुन्।
यस्तै उपाध्यक्ष रोशनबहादुर सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध चयन भएका हुन्। सचिवमा पारस खड्काले जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ल ११ मतले पराजित भए।
केन्द्रीय सदस्यमा महिलातर्फ एक मात्रै उम्मेद्वारी परेपछि जयन्तीदेवी भट्ट निर्विरोध भइन्। यसै गरी, लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए। बाँकी प्रदेशमा कोशीबाट अर्जुन पौडेलले सुनिल कुमार पौडेललाई १३ मतले पछि पार्दै जित हात पारे भने मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ। उनीहरूले ४२/४२ भोट ल्याएका हुन्। उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए।
त्यस्तै बागमतीबाट दिवाकर घले निर्वाचित भएका छन्। उनले ४६ भोट ल्याउँदा प्रतिस्पर्धी सुदीप पिया ३६ मा रोकिए। गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत मात्र ल्याए। सुदूरपश्चिममा विक्रम विष्ट ४९ मतका साथ विजयी भएका छन्। प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए।
खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन्। साउदले ५९ र पाठकले ५४ मत ल्याए भने आयूषले ५१ र चन्दले ३४ मत ल्याएका छन्। पाचौँमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमले बराबर २६/२६ मत पाएका थिए। उनीहरूमध्ये गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation