काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन्।
प्रहरीले आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो । यस प्रकरणमा पछिल्लो समय सिआइबीले नौ जनालाई पक्राउ गरिसकेको छ।
उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालिन सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरिएको थियो। विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।
यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation