५ जेठ २०८१, शनिबार

नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ६८ रनको लक्ष्य

  • ९ असार २०८०, शनिबार
Image

काठमाडौं- जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको सामान्य लक्ष्य दिएको छ। हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४४.३ ओभरमा सबै विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कुनै पनि ब्याटरले खुलेर रन बनाउन सकेनन्। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले बनाएको ३३ रन नै सर्वाधिक हो। नवौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले केही पारी सम्हाल्दै नेपाललाई उकास्ने प्रयास गरे। तर लोगन भान बिकको बलमा बाउन्ड्री लाइनमा सन्दीप क्याच आउट भएसँगै नेपाल अलआउट हुन पुग्यो।

सन्दीपले ३३ बलमा चार चौका प्रहार गर्दै २७ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले पनि २७ रन नै बनाउँदा भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, करण केसीले एक र आसिफ शेख शून्यमा आउट भए। बलितर्फ भान बिकले चार विकेट लिँदा नेदरल्यान्ड्सका अर्का बास डे लिड र विक्रम सिंहले समान २–२ विकेट लिए।

विश्वकप छनोटको सुपर सिक्समा पुग्नका लागि आजको खेल नेपालले जित्नैपर्ने हुन्छ। आजको खेलमा नेदरल्यान्ड्स पराजित भएमा अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि नेदल्यान्ड्स पराजित भएमा मात्रै नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग आठ विकेटको हार ब्यहोरेको थियो। त्यसपछि आफ्नो दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल तेस्रो खेलमा भने वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर