काठमाडौं- नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ। लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए।
कांग्रेसमा सादगी नेताको रुपमा परिचित लामा कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए। लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।
लामाको दुई छोरा र चार छोरी छन्। विद्यार्थीकाल देखिनै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका लामा १३ औँ महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए। उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation