काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कोशी प्रदेशमा पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए।
उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरू भइरहेको दाबी गरे। उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए। उनले एमालेले पहिचानका नाममा भइरहेका अपराधिक क्रियाकलापको सामना गर्न नडराउने पनि उल्लेख गरे।
उनले भने, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ। सरकार केही गर्दैन। प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ। पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा। कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, आपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे सुरुमै । हामीमाथि हमला भयो, कहिले बन्द भनेको छ, कहिले तोडफोड, कहिले अनेक छ। आज मात्रै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजियो, भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा।’
अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर पहिचानको विष फैलाउने कोसिस गरे पनि सफल नबनेको बताए । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे।
ओलीले आफ्नो पार्टी सरकारको यसप्रकारको रवैयासँग नडराउने समेत बताए। उनले भने, ‘यसमा हाम्रो पार्टी किञ्चित, डराउँदैन, झुक्दैन नो कम्परमाइज । नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने, यो किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामीले देख्दैछौँ नि। नराख्दा यस्तो छ, राख्ने भए के हुन्थ्यो । गैर किराँत त बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त। प्रचण्डले सकेन यो विषको आगो फैलाउन, प्रचण्डले खोजेको हो, देशभर विषको आगो फैलाउन, पहिचानको राजनीति ल्याउन, जात जातका राज्य, यो कोसिस गरेको हो। भड्काउन, बिथोल्न खोजेको हो । प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता देखियो।’
ओलीले प्रदेशको नाममा पहिला सहमति गर्ने र पछाडि भड्काउने काम प्रचण्डबाट भएको दाबी गरे । उनले भने, ‘नाम राख्ने, अलि पछि गल्ती भयो भन्ने पुनःविचार गर्नुपर्छ भन्ने र त्यता मान्छे भड्काउने । प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो। एकछिनमा फाटोवादी, एकछिनमा तमासा। अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ । सरकारले यो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन।’
उनले आफ्ना कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्ने बताए। उनले भने, ‘सरकारले न गुण्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले। अब जवाफ दिनुपर्ने बेला आइसकेको छ। पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation