८ कार्तिक २०८३, शनिबार

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री प्रचण्ड

  • २३ जेठ २०८०, मङ्गलबार
Image

खप्तड- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन्। खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे। खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए।

'खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन। अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ,' प्रचण्डले भने, 'विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ।'

योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताए । 'खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहनाजस्तै हो। अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ', उनले भने, 'भू–स्वर्ग भनेकै खप्तड भएको हुँदा जीवित हुँदा नै सबैले खप्तड पुग्नुपर्छ।'

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सांसद, प्रदेशसभा सदस्य, विभिन्न देशका राजदूतलगायत खप्तड पुगेका छन्। सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलन यही जेठ २५ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर