काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आवश्यकताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताएका हुन्।
नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको उल्लेख गर्दै उनले कानुनको बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने बताए।
थापाले सरकारलाई मन लाग्यो, निर्णय गर्यो र राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने बताए। उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए। उनले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न नहुने बताए।
महामन्त्री थापाले राष्ट्रहित विपरीत गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए। महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए।
विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने उनले बताए। महामन्त्री थापाले कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation