काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
आज आफूसँग भेट्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए। 'निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्', उनले भने।
उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको उल्लेख गरे। अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ। सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरे। शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ।
'मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,' उपप्रधानमन्त्री श्रेष्ठले भने, 'प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ। दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा।' उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए।
भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए। यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation