काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’का रुपमा चिनिने मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन्।
कायस्थ २०६२/६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको र्यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए। त्यसपछि सधैँ अर्धचेत अवस्थामा रहेका उनको हिजो साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको हो।
सभापति देउवाले आज एक शोक सन्देशमार्फत जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिएका ‘जिउँदा सहिद’ कायस्थको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन्।
सभापति देउवाले आज प्राप्त भएको राजनीतिक उपलब्धि उनी र उनी जस्तै वीर सहिदहरुको अतुलनीय योगदानबाट सम्भव भएको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गरे।
उनले कायस्थप्रति श्रद्धाञ्जलि र आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation