काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थलमा प्रवेशमा रोक लगाएको छ।
विना प्रमाण त्रिभुवन विमस्थलमा उडानको क्रममा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएकाले प्राधिकरणले कारबाही गरेको हो। कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्टभित्र जाने पास समेत निष्क्रिय बनाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले चरा ठोक्किएको प्रमाण नदेखाई भ्रम फैलाउने काम गरेको बताए। ‘फ्लाई दुवईका पाइलटलाई जहाजमा के समस्या आएको हो, प्रमाण पेश गर्न भनेका छौँ’, प्रवक्ता निरौलाले भने, ‘हामीले चरा ठोक्किएको प्रमाण नदेखेकाले फ्लाई दुबईका प्रतिनिधिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ।’
सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए। तर, फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो।
प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation