काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले स्पष्टीकरण सोधेको हो।
पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले एक विज्ञिप्ति निकाल्दै उक्त अडिओबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। साथै, यो छानबिन पूरा नभएसम्मका लागि उनको सांसद तथा पार्टीको साधारण सदस्यको रुपमा काम गर्न नपाउने समेत निर्देशन दिइएको ढकालले बताएका छन्।
‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
डा. श्रेष्ठको स्वरमा स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको रास्वपाले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation