काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गरिएको रिट बुधबारका लागि पेशी तोकिएको छ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि पेशी सरेको हो। सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीश कहाँ पेशी तोक्न आदेश दिएका छन्।
यो मुद्दामा अब बुधबार पुन: गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने नबढ्ने निश्चित हुनेछ। सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो। रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको थियो।
रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो। यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation