काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन्। अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए।
धरौटी नतिरेपछि उनीहरुलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिए। चैत ७ गते बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो।
अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो। तर उनीहरुले धरौटी तिर्न मानेनन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation