काठमाडौं- बलात्कार आरोपित पल शाहलाई जिल्ला अदालत, नवलपुरले सफाइ दिएको छ। तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ।
पल शाहले अझै दुई वर्ष जेलमा नै बस्नुपर्ने भएको छ। मंगलबार नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा सफाइ दिँदै यौन दुर्व्यवहारको मुद्दामा अढाई वर्ष कैदको सजाय सुनाएपछि उनले अझै झन्डै दुई वर्ष जेलमा नै बस्नुपर्ने भएको हो। उनी फागनु १५ गते पक्राउ परेका थिए।
अढाई वर्ष कैदको गणना पक्राउ परेका दिनदेखि लागू हुने र पलले अब झन्डै अढाई वर्ष जेलमा बस्नुपर्ने सरकारी वकिलको कार्यालय नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताए।
यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो।
पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए।
त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो। रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो।
रिसोर्टका सञ्चालकले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेका समेत उल्लेख थियो। पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation