काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने बताए।
महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनीतिक दलहरुलाई आग्रहसमेत गरे। शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उनको भनाइ थियो।
महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्याउने कामबाट भाग्ने छुट नभएको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation