१५ चैत २०८०, बिहिबार

हिंसात्मक श्रीलंका : आर्थिक संकटको प्रभाव अब राजनीतिमा

  • २७ वैशाख २०७९, मङ्गलबार
Image

काठमाडौँ ।  दक्षिण एशियाली मुलुक श्रीलंकामा अहिले आर्थिक संकटको प्रत्यक्ष प्रभाव राजनीतिमा सरेको छ । संकटपूर्ण अर्थतन्त्रले राजनीतिक सत्तालाई संकटमा पारेको मात्र छैन, एकाएक हिंसासमेत भड्किन थालेको छ ।

सरकारले आर्थिक संकटलाई बेलैमा समाधान गरेन भने कसरी सत्ता पल्टिँदोरहेछ र समाजमा अराजकता फैलिँदो रहेछ भन्ने पछिल्लो दृष्टान्त बन्न पुगेको छ-श्रीलंका।

श्रीलंकामा उच्च मुद्रास्फीति दर, खाद्यान्न तथा इन्धन अभाव र लामो समयसम्म बिजुली कटौतीजस्ता समस्याको विरोधमा मानिसहरुले प्रदर्शन गरिरहेका थिए। यसै क्रममा सोमबार भएको हिंसात्मक प्रदर्शनको क्रममा सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु भएको छ भने १३९ जना मानिसहरु घाइते भएका छन्।

प्रदर्शनकारीहरुले सरकारको कमजोर नीतिका कारण अहिलेको आर्थिक संकट उत्पन्न भएको भन्दै राष्ट्रपति गोताबाय राजपाक्षको राजीनामा मागिरहेका छन्। उनका दाजु महिन्दा राजपाक्षले विरोधका बीच सोमबार राजीनामा दिइसकेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिएसँगै विपक्षी दलहरुले अब मध्यावधि निर्वाचनमा जानुपर्ने बताइरहेका छन्।

पर्यटनमा आश्रित श्रीलंकाको अर्थतन्त्रमा कोभिड–१९ को महामारी सुरु भएयताकै समस्यामा देखिन थालेको हो। यो संकटमा वैदेशिक ऋणले पनि भूमिका खेलेको छ ।

कसरी सुरु भयो संकट?

राष्ट्रपति गोताबाय राजपाक्ष सन् २०१९ मा श्रीलंकामा कर कटौतीको निर्णयको कारण निकै लोकप्रिय बनेका थिए। कोरोना महामारी आउनुभन्दा केही महिनाअघि मात्र श्रीलंकाले करमा कटौतीको निर्णय गरेको थियो। यद्यपि महामारी सुरु भएसँगै श्रीलंकाले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगायो र लकडाउन पनि सुरु भयो।

कोरोना महामारी विश्वव्यापीरुपमा फैलिएपछि वैदेशिक रोजगारीमा गएका मानिसहरु रोजगारी गुमाएर स्वदेश फर्कन थाले। जसका कारण मुलुकको रेमिट्यान्स पनि घट्न थाल्यो। यसले गर्दा वैदेशिक मुद्रा सञ्चिति पनि घट्न थाल्यो। जसको कारण श्रीलंकालाई वैदेशिक ऋण बुझाउन पनि कठिन हुन थाल्यो।

आर्थिक समस्यामा परेसँगै श्रीलंकाले सहयोगी मुलुकबाट केही आर्थिक सहायता पनि प्राप्त गरेको थियो। यद्यपि यसले पनि श्रीलंकालाई आर्थिक संकटबाट बचाउन सकेन।

गत वर्ष श्रीलंकाको सरकारले अर्ग्यानिक कृषिलाई बढावा दिने उद्देश्यका साथ रासायनिक मलमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। जसका कारण किसानहरुले सरकारविरुद्ध प्रदर्शन सुरु गरे। सो निर्णयले श्रीलंकाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने चिया र धानको उत्पादन घट्यो।

अहिले कस्तो छ अर्थतन्त्र ?

कुल ८१ अर्ब डलरको श्रीलंकाको अर्थतन्त्र अहिले टाट पल्टिने अवस्थामा पुगेको छ। यसैबीच रुसले युक्रेनमाथि गरेको आक्रमणले तेल र अन्य उपभोग्य सामग्रीको भाउ पनि बढ्न पुग्यो। यसले पनि अर्थतन्त्रमा दबाब सिर्जना गर्ने काम ग¥यो।

श्रीलंकाको आर्थिक वृद्धिदर सुस्त छ। मुद्रास्फीति धेरै वर्षयताकै उच्च विन्दुमा पुगेको छ। अप्रिल महिनामा श्रीलंकाकामा उपभोग्य सामग्रीको भाउ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढेको थियो। मार्चको तुलनामा पनि यो महिनामा उपभोग्य सामग्रको भाउ १९ प्रतिशतले बढेको हो।

सरकारले व्याजदर बढाएको छ र स्थानीय मुद्रा कमजोर बनाएको छ। अत्यावश्यक बाहेकका सामग्री आयातमा रोक लगाइएको छ। यद्यपि वैदेशिक मुद्रा सञ्चिति केवल २ अर्ब रहनु र यसै वर्ष ७ अर्ब डलरको किस्ता बुझाउनुपर्ने भएकाले श्रीलंकाको अर्थतन्त्र सामान्य अवस्थामा आउन निकै कठिन देखिन्छ।

यस्तो अवस्थामा प्रधानमन्त्री महिन्दा राजपाक्षको राजीनामाले श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट सहयोगका लागि पहल गर्ने बाटो पनि खुला भएको छ। आइएमएफले दिने सहयोगले श्रीलंकाको अर्थतन्त्रलाई सही दिशामा ल्याउन सहयोग पुग्ने अपेक्षा छ।

किन भइरहेको छ प्रदर्शन?

तीन वर्षअघि श्रीलंकामा राष्ट्रपतिको निर्वाचनमा राजपाक्षलाई मतदान गर्नेहरुले नै अहिले जनजीवन थप कष्टकर बन्दै गएको बताउन थालेका छन्। मानिसहरुले गत मार्चदेखि लामो समयसम्म बिजुली नआउने समस्याको सामना गरिरहेका छन्। सरकारले बिजुलीको भुक्तानी दिन नसकेपछि विद्युत् आपूर्तिमा समस्या देखिन थालेको हो।

अहिले श्रीलंकामा पेट्रोल र दैनिक उपभोगका सामग्री खरिद गर्ने पसलमा मानिसहरुको लामो लाइन देख्न सकिन्छ। यस्ता सामग्री पाइए पनि भाउ आकाशिएको छ।

राजपाक्षका विपक्षीहरु अहिले उनको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

सरकारको प्रतिक्रिया

मे ६ मा सरकारले एकै महिनामा दोस्रोपटक आपतकाल घोषणा गरेको थियो। आपतकाल लगाएसँगै सरकारले कुनै कानुन हटाउने, मानिसहरुलाई गिरफ्तार गर्ने र सम्पत्ति जफतको पनि अधिकार हुनेछ।

कोलम्बोमा हिंसात्मक प्रदर्शनपछि सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको थियो। उक्त प्रदर्शनको क्रममा धेरै मानिसहरु घाइते भएका थिए।

राष्ट्रपति राजपाक्षले हिंसात्मक प्रदर्शनको निन्दा गर्दै आएका छन्। उनले संसदका सबै दललाई राष्ट्रिय एकताको सरकार बनाउँदै संकट समाधानका लागि आह्वान गरेका छन्।

यद्यपि विपक्षीहरु भने मध्यावधि निर्वाचन गराएर निकास खोज्नुपर्ने बताउँदै आएका छन्। यही क्रममा सोमबारदेखि श्रीलंकामा राजनीतिक संकट र हिंसा सघनरुपमा देखा परेको छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर