काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको १० दलीय गठबन्धनको बैठक बिनानिस्कर्ष टुंगिएको छ। उपराष्ट्रपतिको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि बसेको बैठक बिनानिस्कर्ष टुंगिएको हो।
माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको जानकारी दिए। उनले बैठक सकारात्मक रूपमा सकिएको बताए। तर, भोलि फेरि बसेर थप निर्णय गर्ने पनि उनले जानकारी दिए।
‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो। छलफल सकारात्मक भएको छ बैठकपछि बस्नेतले भने, 'भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ। आवश्यकताअनुसार बैठक बस्नेछ। बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ।’
उपराष्ट्रपतिमा गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेको छ। आजै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
त्यस्तै मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको बस्नेतले जानकारी दिए। उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को तयारी छ। तर, गठबन्धनमा मन्त्रालय भागवण्डाको विषय टुंगिएको छैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation