काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा घिसिङले विद्युत्मा गरिएको लगानी सँगै विद्युत् खपत पनि बढाउने कार्ययोजना रहेकाले सोहीअनुरुप विद्युतीय सवारीसाधनहरू आइरहेको बताए।
पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारीसाधन कयौँ गुणा सस्तो पर्ने घिसिङको भनाइ छ।
‘जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोसन भइरहेको छ, त्यसलाई कन्जम्सन बढाउने। लगानी सँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्तर्गत विद्युतीय सवारी साधनहरू आइरहेको छ, त्यसको लागि सबैलाई म आह्वान गर्छु विद्युतीय सवारीसाधन प्रयोग गरिदिनुहुन। सबैले विद्युतिय सवारीसाधन प्रयोग गरौँ,' घिसिङले भने।
विद्युतीय सवारीसाधनको प्रयोगले प्रदूषण घट्ने भन्दै घिसिङले विद्युतीय सवारीसाधन प्रयोग गर्दा फाइदा मात्रै हुने बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतिय सवारीसाधन नै उपयुक्त भएको उनले बताए।
'विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रतिकिलोमिटर कस्ट लाग्छ । जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०/१२ रुपैयाँ पर्छ। र गाडीहरूमा प्रतिकिलोमिटर कस्ट चाहिँ एक रुपैयाँभन्दा कम छ विद्युतीय सवारीमा- ६० पैसादेखि ९० पैसाको हाराहारीमा,' घिसिङले भने, 'जबकी पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ। मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन। रनिङ कस्ट पनि कम छ, उपभोक्तालाई फाइदा छ।'
नेपालमा बर्खायाममा पर्याप्त विद्युत् रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत् पुग्ने स्थिति हुने घिसिङको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation