काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। शनिबार पार्टी कार्यालय बालकुमारीमा छानबिन समितिले ८० जनालाई कारबाही गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ सँग बयान लिएको थियो।
तीमध्ये ८० जनालाई कारबाही गर्न समितिले पार्टी केन्द्रलाई सिफारिस गरेको हो। छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत र कैलाली जिल्लामा पुगेर स्थलगत प्रतिवेदन तयार पारेको हो।
गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारबाहीको सिफारिसमा परेका छन्। शिवलाल थापा नेतृत्वमा गठित छानबिन समितिले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन पार्टीलाई बुझाएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation