चितवन- चितवनको पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारामा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस आज बिहान नियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका हुन्।
तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए। उनीहरूको अवस्था सामान्य छ।
बस चालकसहित ६ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम रहेको छ। पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बिएण्डबी अस्पताल लगिएको छ।
पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उनले बताए। सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation