२१ वैशाख २०८१, शुक्रबार

राजसंस्था पुन:स्थापनाको माग राखेर दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

  • १६ फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजसंस्था पुनर्स्थापना गर्न भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

आन्दोलनका कार्यक्रम फागुन २० गतेबाट सुरु हुने उनले बताएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिण गेटअगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरे।

उनले आन्दोलनमा आफूहरूले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको मासिक तलब कम्तीमा १ लाख ५० हजार पुर्‍याउनुपर्नेलगायतका १५ बुँदे माग प्रस्तुत गर्ने समेत बताए।

कैदीबन्दीहरूलाई जेलमुक्त गराई जेलहरूलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरूलाई यही पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरूलाई विना धितो ऋण उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्ने लगायतका माग पनि सरकारसमक्ष गरिने प्रसाईंले बताए।

‘हाम्रा मागहरू पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ। यसमा सहमति जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ। यो लडाइँ भनेको राष्ट्रको लागि हो, राष्ट्रियताका लागि हो। व्यवस्था बदल्ने लडाइँ हो। हामीले धर्म खोजेको, राजा खोजेको हो,’ उनले भने।

व्यवसायी प्रसाईंले आफूहरूका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूको मारमा परेकाहरू आफूहरूको आन्दोलनमा सहभागी दाबी पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर