काठमाडौं- यातायात मजदुरहरुले गरेको आन्दोलनको मौका छोपी आतंक सिर्जना गर्ने र लुटपाट गर्ने नौजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। यातायात व्यवसायीहरुले गरेको आन्दोलनका क्रममा गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने नौजनालाई प्रहरीले सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये नौजनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन्।
प्रहरी परिसरले पक्राउ परेका ती नौजना युवाहरुलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। एसएसपी कार्कीले सामाजिक सञ्जालका फुटेजहरुका आधारमा छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए।
'चोरीका सामान नै बोकेका व्यक्तिहरु पक्राउ परेका हुन्', उनले भने, 'जसमा आगजनीमा पनि संलग्नहरु छन्। लाइटर ल्याएर प्रहरीको गाडी जलाउन उनीहरुको संलग्नता देखिएको छ।'
प्रहरीका अनुसार फागुन १ गते काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायहरूले ट्राफिक कारवाही लगायत विषयमा विभिन्न १० (दश) बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा गाडी जलाउने पनि समातिएका छन्।
त्यसक्रममा प्रहरी वृत्त बालाजुबाट सुरक्षामा खटिएका प्रहरी बोकेका बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी जलाइएको थियो। उक्त घटनाका क्रममा गाडीभित्रको मोटोरेला बेस सेट एक थान, फायर स्ट्रिङ्गुइजर एक थान, मेगा फोन एक थानसहित अरु सामन पूरै जलेका थिए।
त्यस्तै बा १ झ ७२२४ नम्बरको माज्दा गाडीभित्रको हाइटेरा बेस सेट १ थान, फायर स्ट्रिङ्गुइजर एक थान र मेगाफोन थानसहित जलेर नष्ट भएका छन्। प्रदर्शनकारीले माछापोखरी प्रहरी बिटमा समेत ढुङ्गामुढा र आगजनी गरेका थिए। त्यसक्रममा बिटभित्रको हाइटेरा ह्याण्ड सेट चार्जर २ थान र त्यसको दुई थान ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
उनीहरुले त्यहीँको ट्राफिक आइल्याण्डमा समेत तोडफोड र आगजनी गरेका थिए। तोडफोडका क्रममा उक्त ट्राफिक आइल्याण्ड र त्यहीँ रहेको नेपाल टेलिकमको ट्रेलर मेसिन तथा १४४ कोर फाइबर केलब ३३ सय ७० मिटर जलेको थियो।
पक्राउ पर्नेमा उदयपुरको बलम्ता गाउँपालिका २ घर भई तार्केश्वर नगरपालिका १०, मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घर भई टोखा नगरपालिका ३ बानियाटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङको बेँसीसहर नगरपालिका ५ घर भई तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।
त्यसैगरी काभ्रेपलान्चोकको मानेडाँडा घर भई हाल ठमेल बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठानको कडी गाउँपालिका १ घर भई गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशीष खड्का रहेका छन्।
उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ३ म्याद थपिएको प्रहरीले जनाएको छ।
उनीहरुसँगै संदिग्ध १० जना अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ र छानबिन भइरहेको एसएसपी कार्कीले बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation