काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन्।
शनिबार सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेससहित सहमतिको वातावरण बनाउने प्रयासमा आफू लागेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमार्फत सहमति खोज्ने प्रयास भइरहेको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि आगामी ३ माघमा सर्वदलीय बैठक बोलाइएको जानकारी दिँदै प्रचण्डले भने, ‘राष्ट्रिय सहमति भएको छ। अब राष्ट्रिय इस्युमा पनि सहमति गरेर अघि बढियो भने ऐतिहासिक हुन्छ। ३ गतेको बैठकमा यसबारे छलफल हुन्छ।’
अब कांग्रेसले मलाई राष्ट्रपतिमा भोट हालेको जस्तोगरी सभामुख बन्छ कि बन्दैन भन्ने हो,’ प्रचण्डले भने, ‘मेरो कोसिस सहमति बनाएर जाउँ भन्ने छ।’
राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति भइनसकेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा कांग्रेससँग छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको बताए।
आफूलाई विश्वासको मत दिने पार्टीसँग यी पदका विषयमा छलफल गर्नु आफ्नो दायित्व भएको उनको भनाइ छ। एमालेसँग गठबन्धन बनाउँदा कांग्रेस विपक्षमा रहन्छ भन्ने कल्पना गरेर अगाडि बढेको भए पनि कांग्रेसले आफूलाई विश्वासको मत दिएपछि अवस्था नयाँ ढंगबाट अगाडि बढेको उनको भनाइ छ।
कांग्रेसले पनि सत्ता गठबन्धनका दलहरूसँग सभामुखका विषयमा छलफल गर्ने निर्णय नै गरिसकेको छ। प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण पदका विषयमा कांग्रेससहितको सर्वदलीय बैठक बोलाउने बताएर कांग्रेसलाई स्पेस दिन खोजेको स्पष्ट पारेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation