काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक)को पाँचौ शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दैछन्। उनले सम्मेलनलाई काठमाडौंबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन्।
‘प्रधानमन्त्रीज्यूले बुधबार बिम्सटेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ उनले भनिन् । शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ। शिखर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिम्सटेक विदेशमन्त्री स्तरीय बैठक बसेको थियो। बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भएका थिए। उनले बैठकलाई सम्बोधन गरेका थिए।
बिम्सटेक शिखर सम्मेलनको दिन बुधबार कोलम्बोमा सदस्य राष्ट्रहरूबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिइन्। लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिम्सटेक बडापत्र,आपराधिक मामिलामा आपसी कानुनी सहायता सम्बन्धी बिम्सटेक महासन्धि, श्रीलंकाको कोलम्बोमा बिम्सटेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिम्सटेक समझदारीपत्र रहेका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation