पोखरा- नेपाली कांग्रेस कास्की शाखाले पार्टीको जिल्ला कार्यसमितिका पूर्व कार्यबाहक सभापति विष्णुप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ।
जिल्ला सभापति किशोरदत्त बरालले बुधवार शोक विज्ञप्ति जारी गर्दै बाँस्तोलाको बुधवार बिहान ६४ वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरे।
पोखरा महानगरपालिका–९ निवासी उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर पार्टीको संगठनमा क्रियाशील रही पार्टीका वडातहदेखि जिल्ला तहसम्मको नेतृत्वदायी जिम्मेवारी सम्हालेका बताइएको छ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष र तत्कालीन पोखरा उपमहानगरपालिका–९ का वडाध्यक्षको जिम्मेवारी सम्हालेका बाँस्तोला पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष, महेन्द्र मावि र नवप्रभात मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन्।
उनका १ पत्नी, १ छोरा र १ छोरी छन् । बास्तोलाको पार्थिव शरीरमा बुधवारै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation