काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमत पार्टी सरकारमा सहभागी हुने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न लागेका हुन्।
एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ। एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो।
उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन्। उनी योसहित छैटौं पटक मन्त्री बन्ने भएका छन्। त्यस्तै एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिने भएका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन्। प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ।
सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगेका हुन्। 'गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु,' लामिछानेले इकान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने।
उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको रास्वपाले आम निर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन्।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सहभागी हुने भएका छन्। पार्टीका अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए।
सत्ता गठबन्धनको बैठकपछि राउतले भने, 'हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ। जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ।' यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताए।
अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो। जनमत पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ सिटमा जित हात पारेको थियो।
संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने जनाएका हुन्।
त्यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation