काठमाडौं- नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी विरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी विरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।
त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाटीलाई पनि केन्द्रिय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ।
चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिबाट हटाइएको छ।
एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation