काठमाडौं- नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न नहुने बताएका छन्।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका शंकर पोखरेल नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने निर्णय गरेको थियो।
तर, एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतवार संयुक्त वक्तव्य निकालेर तत्कालै बुटवलबाट प्रदेश राजधानी नसार्न भनेका हुन्।
'लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ र अर्घाखाँची जिल्लाको राप्ती गाउँपालिका र शितगंगा नगरपालिकामा स्थापित गर्ने गरी विगतको प्रदेशसभाले निर्णय गरेको थियो', उनीहरुले भनेका छन्, 'त्यहाँ व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी राजधानीको भौतिक पूर्वाधार तयार गरी राजधानी स्थापित गर्ने निर्णय हो।'
वक्तव्यमा उनीहरुले संरचना नै नबनाई राजधानी सार्न खोजिएको कुरामा आफूहरुको असहमति रहने बताएका छन्।
'कुनै संरचना नबनाई फेरि अस्थायी रुपमा वर्तमान कार्यभार हस्तान्तरण गर्ने तहमा रहेको काम चलाउ सरकारले प्रदेशको मुकाम सार्न खोजेको भन्ने सुन्नमा आएको छ', उनीहरुले अगाडि भनेका छन्, 'यस्तो कार्य नगर्न र केही दिनमै गठन हुन लागेको प्रदेशसभा र त्यसबाट निर्माण हुने नयाँ सरकारको जिम्मेवारीमाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ।'
लुम्बिनीको अस्थायी राजधानीलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले दाङ, अर्घाखाँचीको राप्ती र शितगंगा नगरपालिकामा स्थायी कायम गर्ने निर्णय लिएको थियो।
तर त्यस क्षेत्रमा भौतिक पू्र्वाधार नै नबनाई राजधानी सार्न लागिएकोमा उनीहरुको आपत्ति आएको हो। त्यसबेला व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी भौतिक पूर्वाधार निर्माणपछि मात्रै राजधानी स्थापित गर्ने भएको थियो। तर कुनै संरचना नबनाई सार्न लागिएकोमा उनीहरुले आपत्ति जनाएका हुन्।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation