काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचन परिणामपछि झस्किएको एमालेले गठबन्धन फुटाउने प्रयास गरिरहेको बताएका छन्। उनले निर्वाचनको परिणामपछि झस्किएर विपक्षीले नियोजित रुपमा एसपीपी प्रोगामको विषय कांग्रेसमाथि थोपरेको आरोप लगाए।
उनले संविधानमाथि प्रहार गर्नेहरुले नै संविधान जोगाउन नेतृत्व गरेको पार्टीप्रति नियोजित रुपमा षड्यन्त्र गरेको र गठबन्धन फुटाउन कोशिस गरिरहेको बताए। काभ्रेको बनेपामा पार्टी नगरसमितिले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसले कुनै हालतमा देश र जनताको अहित हुने काम नगर्ने दाबी गरे।
उनले अहिले आएको एसपीपीको विषयमा हुँदै नभएको कुरा उचालेर कांग्रेसमाथि प्रहार भएको बताए। ‘विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेख्ने, अनि एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागिरहेको देखिन्छ’, नेता सिंहले भने।
कांग्रेसले कहिले पनि राष्ट्र हित विपरीतका कुनै सम्झौता नगर्ने भन्दै प्रधानमन्त्रीले पनि पटक–पटक सम्झौता गर्दिनँ भनिरहेको भन्दै कांग्रेसप्रति जनता स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। ‘हामीमाथि यो विषय थोपरिएको थियो। तर, १० बुँदे ड्राफ्ट सार्वजनिक भएपछि विपक्षी आफैं फरिसकेको छ।
जुन पार्टीले लोकतन्त्रका लागि योगदान दिएको छ, उही पार्टीले जनताको हित नहुनेगरी काम गर्छ भनेर आरोप लगाउनु कत्तिको शोभनिय हुन्छ ?’ उनले प्रश्न गरे। उनले कांग्रेसको नेतृत्वले मात्रै देशको हित गर्न सक्नेभन्दै पार्टीभित्रको एकता बलियो बनाउन सके आगामी निर्वाचनमा देशकै ठूलो पार्टी हुने उनको दाबी छ।
निर्वाचित जनप्रतिनिधिलाई पार्टी कमिटीसँग छलफल गर्ने र सुझाव लिएर काम गर्न निर्देशन पनि दिएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation