काठमाडौं- रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणि जयसवाललाई पदबाट हटाउने नेकपा एमालेले तयारी गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा जयसवाल नेकपा एमालेबाट नगरपालिकाको मेयरमा विजयी भएका थिए।
तर, यही मंसिर ४ गते हुने निर्वाचनमा भने उनका छोरा रवि जयसवालले नेकपा एमालेविरुद्ध उम्मेदवारी दिएका छन्। एमाले नेतृत्वको गठबन्धनविरुद्ध उम्मेदवारी दिएका छोरा रविको चुनावी अभियानमा लागेको भन्दै नेकपा एमालेले कन्थमणिलाई हटाउने तयारी गरेको हो।
नेकपा एमालेको मधेश प्रदेश कमिटीले नगर प्रमुख कन्थमणिलाई स्पष्टिकरण पनि सोधेको छ। मधेश प्रदेश कमिटी अध्यक्ष राम अवतार यादवले सोधेको स्पष्टिकरणमा पार्टी विपरीत गतिविधि गरेको भनिएको छ।
स्पष्टिकरणमा भनिएको छ, 'उपरोक्त विषयमा २०७९ मंसिर ४ गते हुने निर्वाचनको विषयमा तपाईं पार्टीको निर्णय विपरीत हिँड्नुभएकोले स्पष्टिकरण सोधिएको छ। पार्टीको एक कार्यकर्ता पार्टीको निर्णय विपरीत, पार्टीको विरोधमा लाग्नु उचित हो? वास्तविकता के हो? स्पष्ट खुलाइ २४ घण्टाभित्र नेकपा एमाले मधेस प्रदेश कार्यालयमा जवाफ पठाउनुहोला। अन्यथा पार्टीको विधान अनुसार तपाईंमाथि कारबाही हुने कुरा समेत जानकारी गराउँछु।'
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा नेकपा एमाले र जसपाबीच गठबन्धन भएको छ। सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका शेख अबुलकलाम (फूलबाबु), सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शेख सतार अहमद र नेपाल संघीय समाजवादीका लक्ष्मी साह उम्मेदवार छन्। त्यसैगरी स्वतन्त्रबाट रवि जयसवाल उम्मेदवार रहेका छन्।
एमालेले जसपालाई रौतहट ४ (ख) मा घात गर्ने भएको स्थानीय कार्यकर्ताले बताएका छन्, जसलाई नेकपा एमालेका प्रदेश इन्चार्ज रघुविर महासेठ र रौतहट ४ का उम्मेदवार उद्धव रेग्मीको साथ रहेको बताइएको छ। उनीहरुकै समर्थन र संरक्षणमा रौतहट ४ (ख) मा रवि जयसवालले स्वतन्त्र उम्मेदवारी दिएको बताइएको छ।
रवि जयसवाल गरुडा नगरपालिका प्रमुख कन्थमणि जयसवालका छोरा हुन्। उनी गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए। बाबुलाई जिताउनका लागि उनले ठूलो मिहिनेत गरेका थिए।
अहिले बाबु कन्थमणी पनि स्वतन्त्र उम्मेदवारी दिएका छोरा रविलाई जिताउनका लागि सक्रिय छन्। उनी जितेको पार्टी नेकपा एमालेले जसपालाई समर्थन गरेको भए पनि पार्टीको निर्देशनविपरीत उनी जसपा उम्मेदवार फूलबाबुलाई हराउनका लागि अभियान चलाइरहेको बताइएको छ।
पार्टीको निर्देशन उल्लंघन गर्नेलाई कारबाही गरिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए पनि मेयर कन्थमणिलाई भने मधेश प्रदेशका इन्चार्ज रघुविर महासेठ र रौतहट ४ का एमालेका प्रतिनिधिसभा उम्मेदवार उद्धव रेग्मीको समर्थन रहेको बताइएको छ।
उद्धवलाई जसपाको मत तान्ने र अर्कोतर्फ रविको तर्फको मत पनि तान्ने रणनीतिले रविको विरोध गर्न सकेका छैनन्।
रौतहट क्षेत्र नम्वर ४ (ख) का स्वतन्त्र उम्मेद्वार रवि जयसवालले आफ्नो जितको आधार नेकपा एमाले र मेयर कन्थमणि भएको बताएका छन्। उनले विगतमा बाबुलाई जिताउन लागिपरेकोले एमाले कार्यकर्ताहरुले आफ्नो पक्षमा मतदान गर्ने दाबी गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation