काठमाडौं- कञ्चनपुरमा राप्रपा निकट पत्रकार संगठन मिडिया नेपालका कञ्चनपुर अध्यक्षसहित पदाधिकारीहरुले संगठन परित्याग गरेको घोषणा गरेका छन्। पार्टीले र मिडिया नेपालको केन्द्रीय समितिले कुनै सक्रियता नदेखाएपछि आफूहरुले संगठन परित्याग गरेको मिडिया नेपालका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष धुर्वराज अवस्थीले जानकारी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको शुभेच्छुक संस्था मिडिया नेपाल सानो संगठनका बाबजुद अन्य सहकर्मी संगठनको सहयोग र सद्भावमा नेपाल पत्रकार महासंघको कार्यसमितिमा निरन्तर प्रतिनिधित्व गर्दै आइरहेको भए पनि केन्द्रले कुनै चासो नदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो समय केन्द्रबाट संगठनका गतिविधिहरु प्राय: निस्क्रिय रहेको र मिडिया नेपालको शुभेच्छुक पार्टीले संगठन जोगाउन र बलियो बनाउन कुनै पनि भूमिका नखेलिरहेकाले आजैका मितिबाट हामीले संयुक्त राजीनामा दिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं।'
राजीनामा दिनेमा मिडिया नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष धुव्रराज अवस्थी, उपाध्यक्ष निर्मला बोहरा, जिल्ला सचिव केशव जोशी, कोषाध्यक्ष शम्भुप्रसाद भट्ट र सदस्य कल्पना चौधरीले राजीनामा दिएका हुन्।
चुनावको मुखमा पार्टीको शुभेच्छुक संस्थाका पदाधिकारीको राजीनामाले कञ्चनपुर ३ को प्रदेश सभामा राप्रपाका उम्मेदवार बनेका धर्मराज जोशीलाई ठूलो धक्का लागेको छ। एमालेको समर्थनमा उम्मेदवारी दिएका उनलाई एमालेबाटै धोका हुने अवस्थामा आफ्नै पार्टीका नेताहरुले पनि साथ नदिएको भन्दै असन्तुष्टि बढ्दै गएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation