काठमाडौं- नेपाली कांग्रेसले निवर्तमान सांसद अमरेशकुमार सिंह, केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीवाट निष्कासन गरेको छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरूले पार्टीको नीति र सिद्धान्तविपरीत उम्मेदवारी दर्ता गराएको तथा प्रस्तावक र समर्थक बसेको भन्दै कांग्रेसले कारबाही गरेको हो।
कांग्रेसले पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको मंगलबार एक विज्ञप्ति गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ।
‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ । त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइनेछ । तसर्थ तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाइदिन समेत निर्देश गरिन्छ ।’विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा निर्वतमान सांसद सिंह, चितवनमा बागी दिएका कोइराला, गोकर्णेश्वर नगरपालिकाका नगर सभापति श्रीकृष्ण जोशी र काठमाडौं–३ का दीपेन्द्र लामालगायत ७४ जनालाई कारबाही गरिएको उल्ल्ख छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation