रुपन्देही- रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेद्वारी दिएका इम्दाद हुँसेन खा र रुपन्देही ३ प्रदेश सभा (क)मा माओवादीका तर्फबाट उम्मेद्वारी दिएका फैज अहमद खाँले उम्मेद्वारी फिर्ता लिएका छन्।
मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेद्वारी फिर्ता लिएको प्रदेश सभा उम्मेद्वार फैज अहमद खानले जानकारी दिए। उनीहरूले सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेद्वारलाई पराजित गर्न आफूहरूले उम्मेद्वारी फिर्ता लिएको बताएका छन्।
‘हामीले सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेद्वारलाई हराउनन उम्मेद्वारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने। प्रतिनिधि सभामा उम्मेद्वारी दिएका इम्दादले गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेद्वारी फिर्ता लिएको बताए।
निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेद्वारी फिर्ता भएको जानकारी दिएको छ। फैज र इम्दाद नाताले बाबु छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन्।
फैजले आफू उम्मेद्वार हुँदाभन्दा बढी सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई जिताउन खटिनेसमेत बताए । ‘म जति म उम्मेद्वार हुँदा प्रचार प्रसारमा खटिन्थे, त्यति गठबन्धनका उम्मेद्वारलाई जिताउन खटिनेछु,’ फैजले भने।
रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेद्वार छन्। रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेद्वार छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation