१५ चैत २०८०, बिहिबार

साना दल जोड्दै एमाले : लोसपालाई ९ सिट दिने, जनमतसँग पनि वार्ता

  • १५ असोज २०७९, शनिबार
Image

काठमाडौं- आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश निर्वाचनको उम्मेदवारी दर्ता यही असोज २३ गतेका लागि राखिएको छ। उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै दलहरु उम्मेदवार टुंग्याउने चटारोमा छन्। 

सत्तारुढ गठबन्धनले सिटको भागबण्डा करिब टुंगो लगाएको छ भने प्रमुख प्रतिपक्षी दल पनि चुनावी तालमेलका लागि अन्य साना दलहरुको साथ खोजिरहेको छ।

एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेलका लागि वार्ता सुरु भएको छ। सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने लोसपाको प्रयास असफल भएपछि एमालेसहितका दलहरुसँग वार्ता गर्नका लागि राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।

समितिका सदस्य जितेन्द्र सोनलले एमालेसँग दुई चरणमा वार्ता भइसकेको र छलफल सकारात्मक रहेको बताए।

समितिको सदस्यमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, जितेन्द्र सोन्ल छन्। सोनलले वार्तामा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल संलग्न छन्। 

लोसपासँग भइरहेको छलफलको विषयमा जानकार रहेका नेकपा एमालेका नेताहरुले लोसपासँग सीट बाँडफाँटको तहसम्म पुगिनसकेको बताए।

सिटमा लोसपाले माने गठबन्धन हुनसक्ने सम्भावना रहेको एमाले नेताहरु बताउँछन्। 'लोसपाले ७ देखि ९ स्थान चित्त बुझाउँछ भने सहमति बन्न सक्छ,' मधेसका पोलिटब्युरो सदस्यले भने, 'जनमत पार्टीसँग छलफल चलिरहेको छ। कुरा मिले सो दलका अध्यक्ष सिके राउतले एक सीट प्राप्त गर्ने छ।'

चुनावी तालमेलको विषयमा लोसपा चल्दै गर्दा लोसपाको कमजोर हुँदै गएको विषयलाई पनि चासोका साथ हेरिएको छ। जनता समाजवादी पार्टी (जसपा)बाट विभाजन भएर १४ महिनाअघि गठन भएको लोसपाले अझै सबैतिर जिल्ला तहको संरचना निर्माण गर्न पनि सकेको छैन। अर्कोतर्फ लोसपाका नेता महतोले एमालेको उम्मेदवार जुली महतोलाई सघाउने भन्दै धनुषा ३ नभई सर्लाही २ बाट उम्मेदवार बन्ने घोषणा गरेको समाचारहरु आएका छन्।

२०७४ सालमा मधेसमा दुई वटा मधेसवादी दलबीच चुनावी तालमेल भएको थियो। हालको जनता समाजवादी पार्टी (जसपा), तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेल भएको थियो। ३२ स्थान रहेको मधेस प्रदेशमा राजपाले १० र फोरमले ९ स्थान गरी १९ सीटमा जीत हासिल गरेको थियो। संविधान जारी हुनेबित्तिकै मधेसमा फोरम र राजपाले आन्दोलन चर्काए थिए। देशभरका दुई तिहाइ स्थान र सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा सरकार बनाउने गरी चुनावी परिणाम ल्याएको एमाले र मा‌ओवादी केन्द्रको गठबन्धनले ७ स्थानमा मात्रै जित्न सफल भएको थियो। प्रदेशसभामा पनि राजपा र फोरमको बहुमत आएको थियो।

एमालेले मधेसमा मधेसवादीसहित विभिन्न राजनीतिक दलका प्रभावशाली नेता तथा कार्यकर्तालाई भित्र्याउने र सिट तथा मत दुवै बढाउने रणनीति लिएको देखिन्छ। एमालेले सिके राउतको राष्ट्रिय जनमत पार्टीलाई पनि मधेसमा साथै लगेर जाने रणनीति लिएको छ। त्यसैगरी पहाडी जिल्लाहरुमा राप्रपा, राप्रपा नेपाल र नेकपा परिवार दल र सुदूरपश्‍चिममा नेपाली कांग्रेस बीपीसँग चुनावी तालमेल गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर