काठमाडौं- सुदूरपश्चिमको डोटीका नौवटै स्थानीय तहका सभापतिहरुले गठबन्धन नमान्ने निर्णय गरेका छन्। डोटी नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई दिने गठबन्धनले लगभग सहमति गरेपछि डोटीमा कांग्रेस आक्रोशित बनेको हो।
डोटीमा यसअघि २०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार आलेले नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई पराजित गरेका थिए। यसपटक बलायरलाई कैलाली-४ मा चुनाव लड्न सभापतिसमेत रहेका शेरबहादुर देउवाले प्रस्ताव गरेका छन्। बलयार पनि कैलाली-४ मा तयारीमा जुटिसकेका छन्।
तर, डोटी कांग्रेस भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेमगरलाई मत नहाल्ने निर्णय गरेको हो।
डोटीका नौ वटै पालिकाका कांग्रेस नेतृत्वको बैठकले जिल्लामा गठबन्धन नगर्न केन्द्रीय कार्यसमितिलाई दबाव दिने निर्णय गरेको छ। साथै जिल्लाको सुझाव बिना पार्टीले गठबन्धन गरेमा चुनाव प्रसार प्रसार नगर्ने र भोट पनि नहाल्ने कांग्रेसका पालिका समितिको संयुक्त बैठकले निर्णय गरेको छ।
‘डोटी कांग्रेसको मर्मबिना केन्द्रीय कमिटी गएमा चुनाव प्रचार प्रसार र मतदान गर्ने कार्यमा पनि डोटी कांग्रेस नरहेको साथै डोटीका नौ वटै तहका पार्टी सभापति तथा प्रतिनिधिहरुको एक मत भएको हुँदा डोटी कांग्रेस गठबन्धनका विरुद्धमा रही केन्द्रीय नेतृत्वलाई दबाव सिर्जना गर्ने सर्वसम्मत निर्णय गरियो,’ सो निर्णय पुस्तिकामा भनिएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation