८ कार्तिक २०८३, शनिबार

कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे? (सूचीसहित)

  • ९ असोज २०७९, आइतबार
Image

काठमाडौं- निर्वाचन आयोगमा नेपाली कांग्रेसले बुझाएको बन्दसूची सार्वजनिक भएको छ। 

निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन्।

बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै अटाएको शेखर समूहको आरोप छ। बन्दसूचीको ७ नम्बरमा व्यापारी अनिल रुँगटाको नाम छ भने नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ।

मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ। 

त्यस्तै पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन्।

 पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा छ। उनी गत महाधिवेशनमा मधेसी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनी शेखरसमूहनिकट नै मानिन्छन्। त्यसैगरी कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन्।

त्यस्तै प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ। त्यस्तै नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा. केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा रहेको छ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने उनीहरुको माग छ। 


प्रतिक्रिया

सम्बन्धित खवर