काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया आजदेखि सुरु भएको छ।
गए रातिदेखि पाँच वर्षे कार्यकाल सकिएपछि आइतबार(२ असोज) बाट निर्वाचन प्रक्रिया सुरु भएको हो। निर्वाचन आयोगको कार्यतालिका अनुसार आजबाट राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची पेस गर्नपर्नेछ।
आयोगले आज र भोलि (२ र ३ असोज) बन्दसूची बुझाइसक्ने कार्यसूची सार्वजनिक गरेको छ।
आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन्।
निर्वाचित हुने सदस्य संख्याको कम्तिमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी दलहरुले बन्दसूची तयार पार्नुपर्छ। त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको निर्वाचन आयोगले जनाएको छ।
बन्दसूची सच्याउने म्याद आयोगले आगामी असोज १६ गतेसम्म तोकेको छ।
प्रतिनिधिसभामा समानुपातिक सूची बुझाउन चाहने दलले कम्तीमा ११ जना उम्मेदवारको सूची बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। बढीमा ११० जनासम्म बन्दसूचीमा नाम राख्न पाइन्छ।
बन्दसूची कानूनले तोके अनुसारको भए–नभएको चेक गर्ने अवधि असोज ४ देखि ९ गतेसम्म तोकिएको छ। यो अवधिमा आयोगले जाँचबुझ गरेपछि दलहरूलाई असोज १० देखि १६ गतेसम्म दलहरुले बन्दसूची सच्याउनुपर्नेछ। प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने कार्यतालिकामा उल्लेख।
निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तित्वहरुको पद स्वतः रद्द हुनेगरी कानूनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
राजनीतिक दलका प्रतिनिधिहरुसँगको परामर्शपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम रहेकाको पद रद्ध हुनेगरी प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले वि.सं २०७४ सालमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरुको कानून बमोजिमको अवधि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल अवधिभर मात्र रहने व्यवस्था रहेको उल्लेख गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation