६ जेठ २०८१, आइतबार

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै, अनसन तोड्न सरकारको अपिल

  • १ असोज २०७९, शनिबार
Image

काठमाडौं- पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बस्नुभएका डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी भर्ना गरिएको छ। 

अस्पतालका चिकित्सक डा शेरबहादुर कमरले डा केसीमा श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङगटा लाग्ने, मुटुको धड्कन बढ्ने, थकान महसुस हुने जस्ता समस्या देखिएको जानकारी दिए।  

डा. कमरले भने, 'पाँच दिनदेखि केही पनि नखाई अनशन बस्नु भएकाले उहाँको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई रक्तचाप कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा छ।'

डा. केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ। यसअघि पनि उहाँ पटकपटक अनशन बसेका थिए। 

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेती प्रादेशिक अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ।

सरकारले बनायो वार्ता टोली

सरकारले ५ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन तोड्न अपिल गरेको छ। ७ बुँदे माग राख्दै धनगढी पुगेर २० औं आमरण अनशनमा बसेका डा. केसीलाई अनशन तोड्न र वार्तामा आउन सरकारले आग्रह गरेको हो।

केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली समेत गठन गरेको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको छ। चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ।

वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको हो । अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। तर उनले औषधि लिन मानेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर