काठमाडौं- सरकारले भोलि असोज १ गते राति १२ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो।
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधनको प्रयास गरेको थियो। तर, सरकारले त्यसबारे आएको समाचार गलत भन्दै समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनदेखि नै संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ।
सरकारले आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ। सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसद्मा २७ विधेयक निष्क्रिय हुने भएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation