८ कार्तिक २०८३, शनिबार

सरकारको चर्को दबाबपछि झुक्यो चीन, खोल्यो दुबै व्यापारिक नाका

  • ३१ भदौ २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाल भ्रमणमा रहँदा चिनियाँ सभामुख लि जान्सुलाई नेपाल सरकारले सीमा नाकामा भइरहेको अवरोध अन्त्य गर्न दबाब दिएको थियो। अन्य नेताहरुले पनि चिनियाँ सभामुख लिलाई सीमा नाका खुलाउन आग्रह गरेका थिए। 

सरकारले यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाउँदै सीमा नाका खुलाउन आग्रह गरेका थिए। सरकारको दबाबपछि चीनले रसुवागढी र तातोपानी नाका खुलाएको हो। 

तातोपानीबाट शनिबार र रसुवागढी नाकाबाट बिहीबारदेखि सामान आउन थालेका हुन्। तर, दुवै नाका पूर्ण रूपमा सञ्चालनमा भने आएका होइनन्। नेपाली व्यापारीले खरिद गरेर चिनियाँ टेलरमा राखिएका सामग्री आयात हुन थालेको हो। 

रसुवा भन्सारका सूचना अधिकारी भरतराज अधिकारीले बिहीबारबाट दसैंलक्षित सामग्री आयात सुरु भएको जानकारी दिए। उनका अनुसार बिहीबार १४ वटा चिनियाँ टेलरले कृषिजन्य सामग्री, लत्ताकपडा र जुत्ताचप्पल लगायतका सामग्री ल्याएका छन्। 

‘गोदाममा राखिएका सामग्रीको आयात अझै सुरु भएको छैन। लोड गरेर राखिएका सामान मात्र आएका हुन्। कोरोनाका कारण तिब्बतका विभिन्न सहरमा लकडाउन गरिएको जानकारी आएको छ,’ उनले भने। 

लकडाउन खोलेपछि मात्र गोदाममा रहेका सामग्री आउने सम्भावना देखिएको उनको भनाइ छ। ‘व्यापारीले खरिद गरेर गाडीमा लोड गरिएका सामग्री तत्काल आउने देखिन्छ’, उनले भने, ‘जलविद्युतका सामग्री अझै पठाएको छैन।’ 

चिनियाँ गाडीले सामग्री नेपाली भूमिमा ल्याएर झारिदिने गरेका छन्। चिनियाँ एउटा टेलरमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा लोड गरिन्छ। बाटोमा रोकिएका बाहेक अरू सामग्री व्यापारीले जलमार्ग हुँदै ल्याइरहेका व्यापारी धर्म पौडेलले बताए। तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार शनिबारदेखि सामग्री आयात सुरु भएको हो। उनका अनुसार ५ दिनमा १५ वटा चिनियाँ टेलरले सामग्री आयात गरेका छन्। 

‘चीनले अहिले सामग्री लोड गरेर बसेका चिनियाँ गाडी मात्र पठाउन थालेको छ। पाँच दिनयता सामग्री आयात भइरहेको छ। कोरोना पूर्ण नियन्त्रण भएपछि मात्र नाका खोल्ने जानकारी आएको छ,’ प्रमुख गौतमले भने। तातोपानी नाकाबाट अहिले स्याउ, लसुन, अदुवा लगायतका सामग्री आयात भइरहेको छ। 

व्यापारीले दुवै नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन आग्रह गरिरहेका छन्। तर चिनियाँ पक्षले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नाका आंशिक रूपमा सञ्चालनमा ल्याएको छ। 

दुई वर्षदेखि नै नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हुँदै आएको छ। भूकम्प जानुअघिसम्म तातोपानी नाकाबाट आयात तथा निर्यात ठूलो परिमाणमा हुने गरेको थियो। तातोपानी नाका बन्द भएपछि मात्र रसुवागढीबाट नियमित कारोबार सुरु भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर