काठमाडौं- नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारका लागि सिफारिस भएकाहरुको नाम सूचीकृत गर्ने जिम्मेवारी आठ जना सहमहामन्त्रीलाई दिएको छ। बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले समानुपातिक उम्मेदवारको नाम सूचीकृत गर्ने जिम्मा आठ सहमहामन्त्रीलाई दिएको हो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ सिफारिस भएर आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा उनीहरूलाई दिइएको बताइएको छ। अर्को बैठक शुक्रबार दिउँसो १ बजे बालुवाटारमै बोलाइएको छ। देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको बताइएको छ।
कांग्रेसले विधानबमोजिम १६५ र ३३० वटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस गरी पठाउन निर्देशन गरेको थियो। जिल्ला र क्षेत्रीय समितिहरूले भने आकांक्षी सबैको नाम राखेर सिफारिस गरी पठाएका छन् । एउटै क्षेत्रबाट २५ जनासम्मको नाम सिफारिस भएर आएको छ।
कांग्रेसमा बुधबार बसेको बैठकले समानुपातिकतर्फ एक निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवार हुने गरी उम्मेदवार चयन गर्ने मापदण्ड बनाइसकेको छ भने स्थानीय तहमा उम्मेदवार भएको व्यक्तिलाई उम्मेदवार नबनाउने, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका व्यक्तिसमेत पुनः उम्मेदवार बन्न नपाउने र उच्च नैतिकता, योग्यता, क्षमता भएका र पार्टीको पक्षमा लोकप्रिय मत थप्ने नेताहरूलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको छ।
बैठकमा सभापति शेरबहादुर देउवाले ती नै मापदण्डका आधारमा उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation