८ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभा निर्वाचनका लागि बाँके-३ बाट पनि सिफारिस भइन् आरजु देउवा

  • १८ भदौ २०७९, शनिबार
Image

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट पनि सिफारिस भएकी छन्। 

कैलाली क्षेत्र नम्बर ५ बाट सर्वसम्मत सिफारिस भएकी आरजुलाई बाँकेको कांग्रेसको क्षेत्रीय कमिटीले पनि सिफारिस गरेको हो। २०७४ को निर्वाचनमा पनि कैलाली क्षेत्र नम्बर ५ बाटै उनी निर्वाचनमा उपविजेता बनेकी थिइन्। 

नेपाली कांग्रसकै नेताहरको असहयोगमा नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएकी आरजु कैलाली क्षेत्र नम्बर ५ मा नै चुनाव लड्ने चर्चा भएको छ। यद्पि बाँके कांग्रेसले पनि आरजुलाई सिफारिस गरेको हो।

बाँके -३ मा प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, सह महामन्त्री किशोरसिंह राठौरको पनि नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ। यसअघिका निर्वाचनमा कांग्रेस उपसभापति खड्का सुर्खेत, राठौर बर्दिया र देउवा कैलाली जिल्लाबाट चुनाव लडेका थिए। 

बाँके, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँले तीन जना शीर्ष नेतासहित ११ जनाको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको बताएका छन्। उनका अनुसार बाँकेका कांग्रेस नेता बादशाह कुर्मी, आशा बि.क, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तम राज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस गरिएको छ।

यसै गरी सोही क्षेत्रबाट समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकमा कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठसहित कृष्ण बिके रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर बिक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्पा बिक र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन्। 

क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको नाम जिल्ला, लुम्बिनी प्रदेश हुँदै केन्द्रीय कार्यसमिति समक्ष पुग्नेछ। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर