१८ मंसिर २०७९, आइतबार

नेकपा एमालेको हावादारी घोषणापत्र, दोहोरिए पानीजहाज र रेलका सपना

  • १६ कार्तिक २०७९, बुधबार
Image

काठमाडौं- २०७४ मा नेपाली जनताले दिएको पाँच वर्षको म्यान्डेट अनुसार सरकार चलाउन नसकेर व्यवस्थालाई नै खतरामा पार्दै प्रतिपक्षमा पुगेको नेकपा एमालेले २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। 

यसपटक पनि २०७४ को जस्तै हावदारी र खोक्रा नारासहितको घोषणापत्र सार्वजनिक गरेको छ। २०७४ मा पाँच वर्षमा पानीजहाज र रेलको घोषणा गरेको एमालेले यसपटक पनि दोहोर्‍याएको छ। एमालेले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ। त्यस्तै, एमालेले पूर्व-पश्चिम राजमार्गसँग समानान्तर हुनेगरी विद्युतीय रेलमार्ग पनि सञ्चालन गर्ने महात्वाकांक्षासहितको घोषणापत्र सार्वजनिक गरेक हो। 

पाँच वर्षअघि गरेको घोषणाको कुनै लेखाजोखा नगरी फेरि हचुवाका भरमा यस्तो घोषणा गरेको देखिन्छ। काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै केपी शर्मा ओलीले नेपालको विकासका लागि त्यसको आवश्यकता रहेको पनि बताएका छन्। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री घोषणा गरेर पार्टी एकताको वाचासहित एमाले र माओवादीले घोषणापत्र ल्याएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा 'पूर्व-पश्चिमसँगै मध्यपहाडी पुष्पलाल राजमार्गहरूमा समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग सञ्चालन गरिने' भनिएको थियो। त्यो घोषणापत्रमा काठमाडौं उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिका रेल सञ्चालन गरिने र अन्य सहरहरूमा मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने भनिएको थियो।

पानीजहाज सञ्चालन गर्नेबारे पनि २०७४ को घोषणापत्रमा उल्लेख थियो। त्यो घोषणापत्रमा भनिएको थियो, 'भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानी जहाज सञ्चालन गरिने छ।'

२०७४ सालमा एमाले र माओवादी केन्द्र गठबन्धनले झन्डै दुईतिहाइ सिट जितेको थियो भने ओली साढे ३ वर्ष प्रधानमन्त्री बनेका थिए।

होटल याक एण्ड यतिमा अध्यक्ष ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन्। घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ। करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिने उल्लेख छ।

एमालेले आफ्नो घोषणापत्रमा २० वटा विषयमा 'ग्यारेन्टी' भन्दै खोक्रा नाराहरु भरेको छ। यसअघिको सरकारले ल्याएको नागरिकता विधेयकको विरोध गरेको एमालेले नेपालीलाई मात्र नागरिकता दिनेदेखि नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पुर्‍याउने पूरा हुन नसक्ने लक्ष्य राखेको छ। त्यस्तै दस हजार लिटर पानी नि:शुल्क बाँड्नेदेखि ५० युनिट बिजुली नि:शुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ।

सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन्।

नेकपा एमालेले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक महिनाभित्र समाधान गर्ने दाबी गरेको छ। 

यस क्रममा एमालेले 'नेपालीका लागि मात्रै नेपाली नागरिकता' भन्ने नारा अगाडि सारेको छ। 'हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्,' एमालेले भनेको छ, 'सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ। एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुनेछ।'

नागरिकता सम्बन्धी विधेयक संसद्‍को दुवै सदनले दुई पटक पारित गरेपछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगर्दा निस्क्रिय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर