८ कार्तिक २०८३, शनिबार

विमानस्थलको भीआईपी कक्षबाट भागेका आलम पाँच तारे होटलबाट पक्राउ

  • १८ भदौ २०७९, शनिबार
Image

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्त रिजवान आलमलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ।

यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो। आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ।

आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन्। आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो। सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका थिए।

उनी भीआईपी पास प्रयोग गरी राहदानी चेक नै नगराइ विमानस्थलबाट बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ। त्यस्तै उनी विमानस्थलबाट होटेलसम्म मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडीमा गएको प्रहरीले जनाएको छ।

दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए। यूएई संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाहीलाई लिन गएका बेला अन्सारीले आलमलाई आफ्नै गाडीमा हालेर होटेल पुर्‍याएका हुन्।

आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर