८ कार्तिक २०८३, शनिबार

भदौ १० देखि चुनावी अभियान लिएर गाउँ जाँदै काग्रेस

  • ४ भदौ २०७९, शनिबार
Image

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको चुनावलाई केन्द्रमा राखेर भदौ १० देखि २४ सम्म चुनावी अभियान गर्ने भएको छ।

‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका लागि ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनकाअनुसार पहिलो चरणमा भदौ १० देखि २४ गतेसम्म जनताको घरदैलोमा पुग्ने, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोसम्म पुगेर मुलुकको वर्तमान राजनीतिमा कांग्रेसको भूमिका र आगामी पाँच वर्षकालागि चुनावी एजेण्डाबारे जनतालाई प्रशिक्षित गर्ने गतिविधि सञ्चालन हुनेछन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा  अभियानका  प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सहभागितामा आइतबार अभिमुखीकरण कार्यक्रम राखिएको प्रवक्ता महतले बताए।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने प्रवक्ता महतले जानकारी दिए।

यो अभियानपछि अर्को चरण समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि सञ्चालन गरिने उनले बताए । पहिलो चरणको अभियानमा केन्द्रीय प्रतिनिधिले जिल्लामा जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । जिल्ला कार्यसमितिले गाउँगाउँमा प्रतिनिधि खटाउने छ।

यसबाट कांग्रेस र सरकारप्रति आम जनताको बुझाइबारे पार्टीमा रिपोर्टिङ हुनेछ। त्यसका आधारमा दोस्रो चरणमा रणनीति बनाइने कांग्रेसले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर