काठमाडौं- संघ र प्रदेश निर्वाचनमा नेपाली कांग्रेसले देशभर तालमेल गर्ने भएको छ। सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।
‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ’, एक नेताले भने ।
बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेनन् । नेताहरुले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए।
नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ।
बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो। प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन्।
यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइसकेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation