काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेका छन्।
बेथानचोक गाउँपालिका–२ गेल्दुङस्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलालाई मंगलबार सम्बोधन गर्दै उनले बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औंल्याए।
‘सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बेरोजगारी समेत अन्त्य हुने देखिएको छ,’ सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने।
उनले परिवारको गरीबीपन हटाउन सपना देख्ने युवामा परिस्थितिले साथ नदिँदा ‘डर्टी, डिफिकल्ट र डेन्जर’मा जानसक्ने अवस्थालाई निराकरण गर्नुपर्ने देखिएको बताए। मन्त्री कार्कीले गुणस्तरीय शिक्षा प्राप्त गरेका युवाले प्रविधिसँग खेलेर मासिक डेढ लाख रुपैयाँसम्म आर्जन गरिरहेको उल्लेख गर्दै त्यसैले आफूले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेको दोहोर्याए।
उनले भने, ‘आजकाल हरेक जिल्ला तथा शहरमा एउटा ल्यापटप बोकेर युवाले डेढ–दुई लाखसम्म कमाउँछन्, अब युवालाई हरेक क्षेत्रले प्रविधिमैत्री बनाएर त्यतातिर ध्यानाकर्षण गराउनुपर्छ।’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation